शिर्षक: इजरायली हमलामा इरानी राष्ट्रपति पजाकियान घाइते भएको खुलासा

शिर्षक: इजरायली हमलामा इरानी राष्ट्रपति पजाकियान घाइते भएको खुलासा

तेहरान : इरान र इजरायलबीच गत महिना भएको १२ दिने सैन्य झडपका क्रममा इरानी राष्ट्रपति मसुद पजाकियान घाइते भएको रहस्य ढिलो गरी सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी फार्सका अनुसार, १६ जुनमा इजरायली मिसाइल आक्रमणमा राष्ट्रपति पजाकियान घाइते भएका हुन्।

रिपोर्टअनुसार, सो दिन इजरायलले तेहरानको पश्चिमी क्षेत्रमा रहेको एक भवनमा छ वटा क्षेप्यास्त्र हमला गरेको थियो, जहाँ त्यो बेला इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठक चलिरहेको थियो।

बैठकमा राष्ट्रपति पजाकियानसहित संसदका सभामुख मोहम्मद बगेर गालिबाफ, न्यायपालिका प्रमुख घोलाम–होसेन मोहसेनी एजेईआई र अन्य शीर्ष अधिकारीहरू सहभागी थिए। यद्यपि उनीहरू भवनको तल्लो तलामा रहेका कारण हमलाको प्रत्यक्ष असरबाट जोगिए।

इजरायली रणनीति विषालु धुवाँद्वारा घेरा हाल्ने थियो। भेन्टिलेसन प्रणाली र मुख्य प्रवेशद्वारमा सटीक हमला गरी भवनभित्र रहेका उच्च अधिकारीलाई निसास्सिने स्थितिमा पार्ने उद्देश्यसहित हमला गरिएको रिपोर्टमा उल्लेख गरिएको छ।

हमलापछि भवनको बिजुली काटिएको थियो, तर त्यहाँको आपतकालीन निस्किने मार्ग (इमर्जेन्सी गेट) प्रयोग गरी राष्ट्रपति पजाकियानसहित अन्य अधिकारीहरू भवनबाट बाहिरिन सफल भए। भाग्ने क्रममा पजाकियानको खुट्टामा चोट लागेको र अन्य केही अधिकारीहरू सामान्य घाइते भएको जनाइएको छ।

फार्सले उल्लेख गरेअनुसार, इजरायलले हिजबुल्लाह प्रमुख नसरल्लाहलाई जस्तै इरानी राष्ट्रपतिको पनि शिकार गर्ने लक्ष्य राखेको थियो। गत वर्ष अक्टोबर १ मा इजरायली आक्रमणबाट नसरल्लाहको मृत्यु विषालु धुवाँबाट भएको आरोप इरानले लगाएको छ।

यो घटना सार्वजनिक भए पनि इरानी सरकार वा इजरायली पक्षबाट औपचारिक रूपमा कुनै पुष्टि गरिएको छैन।