

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको बताएका छन्।
आइतबार राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनको समयमा उत्पन्न हुने विभिन्न जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आएको छ।
“मनसुनको समयमा जोखिमहरू बढ्न सक्छन्,” उनले भने, “त्यसका लागि पूर्व सूचना प्रणालीलाई सक्रिय बनाइएको छ, साथै विपद् आएपछि प्रतिकार्यमा जुट्न आवश्यक गृहकार्य पनि भइरहेका छन्।”
गृहमन्त्री लेखकले कानुन अनुसार गठन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयकै सम्पर्कमा रहेकाले त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए।
यो वर्ष अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।