

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणबारे भ्रामक प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। झापाको दमक नगरपालिका अन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन समारोहमा बोल्दै उनले केही “विरोधी र अराजक तत्वहरूले अरु केही नपाएर स्पेनमा मान्छे छाडेर आयो” भन्ने झूटो प्रचार गरेको आरोप लगाए।
ओलीले भने, “केही तत्वहरूले भ्रमणको सफल पक्ष ओझेल पार्दै झूट र घटिया प्रचार गरिरहेका छन्। त्यस्ता कुरा सुनेर जवाफ दिनुपर्ने जरुरी म देख्दिनँ।”
प्रधानमन्त्री ओलीले उद्घाटन गरेको सो सडक विश्व बैंकको सहयोगमा सञ्चालित दमक नगरपालिकाको गौरवको आयोजना हो। नेपालभरका १७ सडकमध्ये छानिएको यो आयोजना ४.८६ किमी लम्बाइको छ र ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। समयमै सम्पन्न भएकाले यसलाई नमूना आयोजनाको रूपमा प्रस्तुत गरिएको छ।
ओलीले आफ्नो सरकार “मेचीदेखि महाकालीसम्म” विकास अभियानमा अघि बढिरहेको दाबी गर्दै दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माणको घोषणा पनि गरे। उनले भने, “देशभर विकासका लहर ल्याउने क्रममा यो सडक पनि एक महत्वपूर्ण कडी हो।”
शिक्षामा सुधारबारे बोल्दै ओलीले स्वयंसेवी भावनासहित सञ्चालन गरिएका नि:शुल्क अनलाइन कक्षाका कारण यस वर्षको एसईई नतिजा १३ प्रतिशतले सुधारिएको दाबी गरे।कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई, उद्धव थापा लगायतको उपस्थिति थियो।