सूचना प्रविधिमा १६ करोड भ्रष्टाचार आरोप : सुनील पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर

सूचना प्रविधिमा १६ करोड भ्रष्टाचार आरोप : सुनील पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १६ करोड रुपैयाँ भ्रष्टाचार गरिएको ठहर गर्दै उनीहरूलाई प्रतिवादी बनाएको हो।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ सम्बन्धी उपकरण खरिदका क्रममा गुरुयोजना र स्पष्ट आवश्यकता मूल्याङ्कन विना मिलेमतोमा लागत अनुमान तयार पारिएको थियो। अनुमानित ३० करोड ९९ लाख रुपैयाँको परियोजना ३० करोड ६५ लाखमा वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि लाई दिइएको थियो। तर, खरिद गरिएका उपकरणहरू गुणस्तरहीन र मूल्यभन्दा धेरै महँगो रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

मुख्य आरोप र प्रतिवादीहरू
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलमाथि १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ। साथै उनलाई कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो। अन्य प्रतिवादीहरूमा—

  • तत्कालीन निर्देशक सफल श्रेष्ठ

  • सहायक निर्देशक रमेश पोखरेल

  • कम्प्युटर इन्जिनियर रामशरण गायक

  • लेखा अधिकृत निमबहादुर वली

  • ठेकेदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि का अध्यक्ष अरुण श्रेष्ठ

उनीहरूमाथि सार्वजनिक पदको दुरुपयोग, खरिद प्रक्रिया उल्लंघन, मिलेमतोमा ठेक्का दिने र राज्यलाई आर्थिक हानी पुर्‍याएको आरोप छ।

सुनील पौडेल यसअघि नेपाल टेलिकम को प्रबन्ध निर्देशकका रूपमा पनि कार्यरत थिए। टेलिकममा समेत ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। अहिले उनी डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्।