

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ। मेयर बालेन शाहको अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बजेट सीमा तोकेको छ।
बैठकमा मेयर शाहले जनअपेक्षा अनुरूप विकासका योजनाहरूलाई प्राथमिकता दिँदै पूर्वाधार क्षेत्रमा बजेट बढाउन निर्देशन दिएका थिए। चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार विकासमा थप लगानी हुने समिति निर्णयमा उल्लेख छ।
बैठकमा राजस्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिवसहित विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। अब बजेट निर्माणको प्रक्रिया तीव्र हुने भएको छ।
त्यसैगरी, आजै बस्ने ४०औं नगर कार्यपालिका बैठकले नगर सभाको मिति निर्धारण गर्नेछ। सो सभामा मेयर शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपमेयर सुनीता डंगोलले बजेट प्रस्ताव पेश गर्ने महानगरले जनाएको छ।