

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जा र आवास कर्जाको सीमा वृद्धि गरेको छ। लचिलो आर्थिक वातावरणको तयारीस्वरूप कर्जाको पहुँच विस्तार गर्ने उद्देश्यले कर्जा सीमा बढाइएको हो।
गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार, व्यक्तिगत तर्फको सेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ। अब एक व्यक्तिले बढीमा २५ करोडसम्मको सेयर धितो कर्जा लिन सक्नेछ।
त्यस्तै, आवासीय घर कर्जाको सीमा पनि २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँसम्म पुर्याइएको छ। यसले विशेषगरी शहरी क्षेत्रमा घर निर्माण तथा खरीद गर्न चाहनेहरूलाई थप सहजता पुर्याउने अपेक्षा गरिएको छ।
मौद्रिक नीतिमा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पनि पुनरवलोकन गरिने उल्लेख गरिएको छ। गभर्नर पौडेलले चालू पुँजी कर्जा कार्यान्वयनलाई एक वर्षपछि सार्दै आगामी आर्थिक वर्षको अन्त्य (२०८३ असार मसान्त) मा लागू गर्ने तयारी रहेको जानकारी दिए।
कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार र मिडिया क्षेत्रको स्वरूप र कर्जा फिर्ता चक्रलाई मध्यनजर गर्दै चालू पुँजी कर्जामा लचिलो दृष्टिकोण अपनाइने नीतिमा उल्लेख छ।
पछिल्लो मौद्रिक नीतिमा राष्ट्र बैंकको दृष्टिकोण लचिलो, व्यवसायमैत्री र निजी क्षेत्रलाई प्रोत्साहन दिने खालको देखिएको विश्लेषण गरिएको छ।