राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुस्त हुँदै गएको अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ। केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा नीतिगत दरमा कटौतीसहित लगानी प्रवाह बढाउने नीति अवलम्बन गरेको छ।

नयाँ मौद्रिक नीतिअनुसार स्थायी तरलता सुविधा दर (बैंक दर) ०.५ प्रतिशत घटाएर ६ प्रतिशतमा झारिएको छ। त्यस्तै, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ। साथै, स्थायी निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाइएको छ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका अनुसार, मुलुकमा विद्यमान तरलता सहजता र घट्दो ब्याजदरका बीच लचिलो नीति ल्याइएको हो। उनले स्थिर वित्तीय वातावरणमार्फत उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन दिने लक्ष्यसहित नीति तयार पारिएको जानकारी दिए।

निजी क्षेत्रलाई प्रवाह हुने कर्जा वृद्धि दर आगामी आर्थिक वर्षमा १२ प्रतिशत रहने अनुमान गरिएको छ। यसले बजारमा लगानीको अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतभित्र मूल्यवृद्धि कायम राख्ने लक्ष्य लिएको छ। राष्ट्र बैंकको यो लचिलो मौद्रिक नीति उक्त लक्ष्य प्राप्तिमा सहयोगी हुने विश्वास गरिएको छ।