

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, पाठकलाई संविधानविरुद्ध ‘श्री ५ महाराजधिराज’ भन्ने शब्द प्रयोग गर्दै विज्ञप्ति जारी गरेको विषयमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, पाठकले संविधानले नचिनेको ‘संवाद सचिवालय’ को नामबाट सूचना जारी गर्दै पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गरेका थिए। यस्तै लेटरप्याड र सार्वजनिक सन्देशमार्फत पूर्वराजालाई पूर्ववत् शाही सम्मान दिइएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि वैशाख १३ गते पाठकले पूर्वराजा ज्ञानेन्द्रबाट ‘श्री ५ महाराजधिराज’ का रूपमा समवेदना सन्देश जारी गरेका थिए, जसमा प्रयोग भएको भाषा र पदवीलाई लिएर संसदमै विवाद चुलिएको थियो।
नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् बैठकमा यस विषयमा कडा आपत्ति जनाउँदै यस्तो कार्य संविधानको उपहास भएको बताए। उनले संवाद सचिव पाठक र पूर्वराजा शाहविरुद्ध कारबाहीको माग गरेका थिए। गैरेले प्रश्न उठाएका थिए, “नेपालको संविधानमा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्द कहाँ छ? यदि छैन भने, संविधानको उपहास किन सहनु?”
प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ।