

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विवाह गरी सन्तान उत्पादनमा सक्रिय हुन नागरिकलाई आग्रह गरेका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए मानव अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक गरिएको ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ को महत्व उल्लेख गर्दै भने, “जनसङ्ख्या बिना देश हुँदैन। देश र धर्तीको अर्थ नै मानव अस्तित्वमा निहित छ। त्यसैले जनसङ्ख्यालाई टेकेर नीति बनाउनु आजको आवश्यकता हो।”
उनले भनिन्, “२० कटेपछि विवाह गर्नुस्, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्, अनि ४० कटेपछि रमाउने गीतमा मात्र अल्झिनु हुन्न।”
प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिलाई एकै साथ लैजानु पर्नेमा जोड दिँदै जनसङ्ख्या व्यवस्थापनलाई वैयक्तिक र पारिवारिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। “हामीले सृष्टिको सन्तुलन कायम राख्नुपर्छ, मान्छे मर्ने होइन, बाँच्ने नीति बनाउनु पर्छ,” उनले स्पष्ट पारे।
कार्यक्रममा प्रधानमन्त्रीले वैज्ञानिक सोचका साथ बनाइएको नयाँ जनसङ्ख्या नीतिको सफल कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह पनि गरे।
उनले विकसित देशहरूमा समेत घट्दो जनसङ्ख्याका कारण उत्पन्न संकटको उदाहरण दिँदै नेपालले त्यो अवस्था आउन नदिन बेलैमा सचेत हुनुपर्ने बताए। “जनसङ्ख्या नकारात्मक भयो भने विकासको सपना अधुरै रहन्छ,” प्रधानमन्त्री ओलीले भने।
यसअघि गरिएको “सन्तानले डाँडाकाँडा ढाक्न नपरोस्” भन्ने चेतनामूलक सन्देशले उल्टो प्रभाव पारेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे।
प्रधानमन्त्रीले अन्त्यमा भने, “मानव जातिको अस्तित्वभन्दा मूल्यवान केही छैन, त्यसैले अबको प्राथमिकता समुचित जनसङ्ख्या व्यवस्थापन हुनुपर्छ।”