मुस्ताङमा बाढीले ७ पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङमा बाढीले ७ पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङ : उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा आएको अकल्पनीय बाढीले ठूलो क्षति पुर्‍याएको छ। सम्भावित हिमताल फुटेको कारणले आएको बाढीकाे प्रारम्भिक अनुगमन बुधबारदेखि सुरु भएको हो।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, प्राविधिक टोली, पाँचै वडाका वडाध्यक्ष तथा सदस्यहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार बाढीले गाउँपालिकाभित्रको शाखा सडकसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुल पूर्णरूपमा बगाएको छ। कुल सातवटा पुलमा क्षति पुगेको र यसबाट करिब डेढ करोड रुपैयाँभन्दा बढीको संरचनात्मक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए। यद्यपि बाढीबाट मानवीय तथा पशु चौपायामा भने कुनै क्षति नभएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष गुरुङले रिङरोड सडक र त्यससँग जोडिने शाखा सडकका पुलहरूमा क्षति पुगेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए।

हिमताल फुटेको आशङ्का

अध्यक्ष गुरुङका अनुसार बाढी आउँदाको समयमा उक्त क्षेत्रमा वर्षा नभएको पुष्टि भएपछि हिमताल फुटेर बाढी आएको हुनसक्ने आशंका गरिएको हो। “स्थानीयहरूसँग बुझ्दा पानी नपरेको जनाएका छन्। यस्तो परिस्थितिमा एक्कासि बाढी आउनु भनेको हिमताल फुट्नु नै प्रमुख कारण हुनसक्छ,” उनले भने।

सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढीको स्रोत पत्ता लगाउन पठाइएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए। स्थानीय यार्सा सङ्कलकहरूले छुआमा खोलाको मुहान क्षेत्रमा हिमताल रहेको पुष्टि गरेका छन्।

यसैबीच, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमताल रहेको बताए। जलवायु परिवर्तनका कारण उच्च क्षेत्रमा तापमान बढिरहेको र त्यसले हिमताल फुट्ने खतरा निम्त्याएको उनले बताए।