

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरमा अवस्थित छ।
यसको प्रभावस्वरूप आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सातै प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बाँकी भू–भागका थोरै स्थानहरूमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।