

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार तीन दिनअघि गएको सोमवारदेखि उनीहरु सम्पर्कविहीन भएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अरु कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका अध्यक्ष मगरले जानकारी दिए ।
गाउँपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।
“रुकुम पूर्वमा गई कामकाज गर्न जाने भनि कार्यालयबाट निस्किएका प्रमुख प्रशासकीय अधिकृतलगायत सात कर्मचारी सम्पर्कविहीन हुनुहुन्छ,” गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजी कार्य गर्दा रुकुमपूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथाशीघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरूले यस पालिकामा जानकारी गरिदिनुहोला ।”
