

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालमै भएको तथ्यप्रति दृढतापूर्वक उभिँदै “सत्य बोल्न डराउनु हुँदैन” भन्ने तर्क अघि सारेका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले रामको जन्मभूमि चितवनको माडीस्थित ठोरी भएको आफ्ना पहिल्यैका दाबीलाई पुनः दोहोर्याएका हुन्। “राम जन्मिएका नेपालमा हो। नेपालको भूमिमा पर्छ त्यो ठाउँ। हामीले यथार्थ भन्न डराउनु हुँदैन,”
प्रधानमन्त्री ओलीले रामायणको प्रसंग उद्धृत गर्दै, राम र लक्ष्मणलाई विश्वामित्रले नेपाली भूभागमै शिक्षा दिएको प्रसंग वाल्मीकिकृत रामायणमा उल्लेख रहेको दाबी गरे।
“शिव यहींका हुन्, विश्वामित्र यहींका हुन्, मैले लेखेको होइन नि रामायण,” भन्दै उनले नेपालका धार्मिक र सांस्कृतिक धरोहरहरूलाई प्रचार गर्न नहिचकिचाउनुपर्नेमा जोड दिए।
“को रिसाउँछ भनेर सत्य बोल्न डराउनु हुन्न। राम भगवान् हुन् भने मान्ने नमान्ने आ-आफ्नो कुरा हो, तर हामीले सत्य प्रचार गर्न सक्नुपर्छ,” उनले भने।