प्रधानमन्त्री ओलीद्वारा संसदमा स्पेन भ्रमण र सम्मेलनका उपलब्धिबारे जानकारी

प्रधानमन्त्री ओलीद्वारा संसदमा स्पेन भ्रमण र सम्मेलनका उपलब्धिबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र त्यहाँबाट प्राप्त उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

सोमबार संसदको बैठकमा समय लिएर उनले सम्मेलनले नेपालको आर्थिक कूटनीति सुदृढ बनाउने, दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न गति थप्ने र वैदेशिक लगानीमा उत्साहजनक वातावरण निर्माण गर्ने पक्षमा सकारात्मक प्रभाव पारेको बताए।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए। भ्रमण पूर्व उनले प्रतिनिधिसभामा नै कार्यसूचीबारे जानकारी दिएका थिए। सम्मेलनमा नेपालले अतिकम विकसित मुलुकहरू (LDCs) को तर्फबाट नेतृत्व गरेको र सम्बोधनमार्फत ती मुलुकहरूको न्यायपूर्ण विकास र वित्तीय पहुँचको पक्षमा वकालत गरेको उनले जनाए।

सम्मेलनका प्रमुख उपलब्धि र नेपालका प्रयासहरू:

  • सेभिया प्रतिबद्धता कार्यान्वयनबाट नेपाललगायतका अतिकम विकसित राष्ट्रलाई वैश्विक सहयोगको अपेक्षा

  • सन् २०२६ भित्र नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य दोहोर्‍याइएको

  • आर्थिक कूटनीति सशक्त बनाउँदै विदेशी लगानी आकर्षण गर्ने प्रयास

  • औपचारिक र अनौपचारिक विकास सहयोग तथा जलवायु वित्त क्षेत्रमा नयाँ साझेदारीको आह्वान

  • सम्मेलनकै क्रममा भएको नागरिक समाजसँगको संवादमा लोकतान्त्रिक संरचनाको रक्षा र खबरदारीको भूमिकालाई सम्मान गरिएको उल्लेख

  • अत्यन्त कम विकसित देशहरूको समूहको बैठकमा अध्यक्षता र नेतृत्त्व, गोलमेच वार्तामा सहभागिता

प्रधानमन्त्री ओलीले सम्मेलनको छेउछाउमा स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजसँग द्विपक्षीय भेट भएको र त्यसमा आपसी हितका विविध क्षेत्रबारे छलफल भएको जानकारी पनि संसदलाई गराए।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा विश्वासिलो, नेतृत्वदायी र दिगो विकासप्रति प्रतिबद्ध राष्ट्रको रुपमा आफूलाई प्रस्तुत गरेकोमा गर्व व्यक्त गर्दै उनले अबको मार्गचित्र स्थायी आर्थिक वृद्धिलाई समेट्ने खालको हुनुपर्नेमा जोड दिए।