

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको छ।
प्रधानमन्त्री ओलीले जेठ ६ गते गठन गरेको सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समितिले सोमबार तीन जनाको नाम सिफारिस गरेको हो।
यद्यपि सिफारिसमा परेका उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धीमध्ये प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेतीको चर्चा प्रमुख रूपमा गरिएको छ।
पूर्व उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते राजीनामा दिएपछि त्रिविको उपकुलपति पद रिक्त भएको थियो। त्यसयता शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले निमित्त उपकुलपतिका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
अब सिफारिस गरिएका तीनजनामध्ये एक जनालाई प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन्। नियुक्तिको औपचारिक घोषणा केही दिनभित्रै हुने अपेक्षा गरिएको छ।