जसपा नेता अशोक यादवको विवादास्पद अभिव्यक्ति : मधेस आज नभए भोलि अलग हुन्छ

जसपा नेता अशोक यादवको विवादास्पद अभिव्यक्ति : मधेस आज नभए भोलि अलग हुन्छ

काठमाडौँ: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले “मधेस आज नभए भोलि नेपालबाट अलग हुनेछ” भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन्। नेपाल प्रहरीले जारी गरेको पक्राउ पुर्जीबीच फरार रहेका यादवले सोमबार सामाजिक सञ्जालमार्फत दोस्रो भिडियो सन्देश जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि उनी प्रहरीको खोजी सूचीमा परेका थिए। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार यादवको खोजी तीव्र गतिमा भइरहेको छ। प्रहरी स्रोतअनुसार यादव भारततर्फ भागिसकेका छन्। यद्यपि उनले छोराको उपचारका लागि भारत आएको र आफू फरार नरहेको दाबी गरेका छन्।

भिडियो सन्देशमा यादवले भारतका राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी अधिकारी र प्रशासनसँग अपिल गर्दै भनेका छन्, “नेपालमा हुने राजनीतिक आन्दोलनहरू अपराध होइनन्। भारत सधैं नेपालका आन्दोलनकारीहरूको शरणस्थल रहँदै आएको छ।” उनले नेपाली सुरक्षाकर्मीमाथि सिधा आरोप लगाउँदै भारतीय भूमिमा छापा मारिएको दाबीसमेत गरेका छन्।

यादवले भनेका छन्, “नेपालको एसपीको भनाइमा भारत सरकारले कुनै पनि कदम चाल्न हुँदैन। हामीमाथि भइरहेको दमन र शोषणले अब विद्रोहको अवस्था सिर्जना हुँदैछ। सीके राउतले उठाएको ‘स्वराज’को बिगुल सही थियो। मधेस आज नभए भोलि अलग हुनेछ – म रहूँ वा नरहूँ।”

उनले मधेसी समुदायलाई दोस्रो दर्जाको नागरिकझैं व्यवहार गरिएको आरोप लगाउँदै नस्लीय चिन्तनको अन्त्य गर्नुपर्ने बताएका छन्। “स्वाभिमानका लागि हामीले नेपाललाई आफ्नो देश मानेका थियौँ, तर राज्यको दमनकारी सोचले अब सहन सकिँदैन,” यादवको भनाइ छ।

राज्यविरुद्धको यस्तो अभिव्यक्तिलाई गम्भीर रूपमा लिँदै सरकारले आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताइएको छ। यस घटनाले मधेस मुद्दा, राष्ट्रिय एकता र सुरक्षा व्यवस्थाप्रति गम्भीर बहस फेरि जन्माएको छ।