

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक निष्कर्षको चरणमा पुगेको छ। यही असार १६ गतेदेखि सुरु भएको बैठकमा विभिन्न प्रस्तावमाथि केन्द्रीय तहका नेताहरूले क्रमशः आफ्नो धारणा राखिरहेका छन्।
आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे, जीवन परियार र कोषाध्यक्ष उमेश श्रेष्ठले बोल्दै आफ्ना विचार प्रस्तुत गरे।
त्यस्तै, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, एनपी साउद, आनन्द ढुङ्गाना, डा. चन्द्रकान्त भण्डारी, अजय चौरसिया, अम्बिका बस्नेत, शङ्कर भण्डारी, ध्रुव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु बाँस्तोला, भीम पराजुली, रुक्मिणी कोइरालासहित आमन्त्रित वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि आफ्नो धारणा राखेका थिए।
बैठकमा पार्टीको १०० दिने अभियानको मूल्याङ्कन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र निर्देशिका संशोधन, अनुशासन समितिको प्रतिवेदन, कृयाशील सदस्यता नवीकरण, भातृ तथा शुभेच्छुक संस्थाको व्यवस्थापन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिताजस्ता विषयमा गहिरो छलफल भइरहेको छ।
पार्टी कार्यालयका अनुसार सोमबारको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले धारणा राखेपछि सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने छन्। त्यसपछि बैठक आवश्यक निर्णयसहित सम्पन्न हुने जनाइएको छ।