

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार लगातार छैटौं दिन हरियालीमै रह्यो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४० अंकले बढेर २,७०६.०६ विन्दुमा पुगेको छ।
यद्यपि, समग्र बजार सकारात्मक देखिए पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ। अघिल्लो दिन ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आजको कारोबार ९ अर्ब ५० करोड रुपैयाँमा सीमित रह्यो।
समूहगत सूचकांकमा ‘अन्य’ समूह सबैभन्दा बढी ३.०६ प्रतिशतले बढ्यो। हिमालयन रि र नेपाल रि जस्ता पुनर्बीमा कम्पनीहरूको मूल्यमा आएको तीव्र वृद्धिले यो समूहमा उल्लेख्य वृद्धि ल्याएको हो।
त्यस्तै, फाइनान्स समूह २.४९ प्रतिशतले वृद्धि भयो। बैंकिङ (०.११%), लगानी (०.३७%), उत्पादन तथा प्रशोधन (०.६३%) र व्यापार (०.८२%) समूहहरूमा पनि हरियाली देखिएको छ।
बजारको समग्र सूचक बढे पनि विकास बैंक (-१.५३%), होटल तथा पर्यटन (-०.२५%), जलविद्युत् (-१.०५%), जीवन बीमा (-१.३०%), माइक्रोफाइनान्स (-०.०६%) र निर्जीवन बीमा (-०.५१%) समूहमा गिरावट देखिएको छ।
कम्पनीगत रूपमा हेर्दा नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो। यससँगै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६%, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०%, अपर हेवाखोला हाइड्रोपावरको ५.१८% र जानकी फाइनान्सको ४.९१% ले मूल्य बढेका छन्।