जिल्ला अदालतमा युनुस अन्सारीको बयान

जिल्ला अदालतमा युनुस अन्सारीको बयान

काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी कारागारबाट छुटेलगत्तै पक्राउ परेका युनुश अन्सारीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासमा बयानका लागि पेसी तोकिएसँगै अन्सारीलाई अदालतमा उपस्थित गराइएको हो।

२०७६ को नक्कली नोट प्रकरण
२०७६ साल जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुश अन्सारीसहित ६ जना पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले ७ करोड ७६ लाख भारतीय नक्कली नोट बरामद गरेको थियो। सोही अभियोगमा दोषी ठहर भई अन्सारीले ६ वर्ष जेल सजाय भुक्तान गरेका थिए।

सम्पत्ति शुद्धीकरणको नयाँ मुद्दा
जेलमुक्त भएको दिनमै अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः पक्राउ गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले गत शुक्रबार अन्सारीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिसकेको छ।

अभियोगपत्र अनुसार, अन्सारी नेशनल टेलिभिजनको अध्यक्ष रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको र ११ करोड ३७ लाख रुपैयाँ खर्चिएको देखिएको छ। सो रकमको स्रोत स्पष्ट नभएकाले अस्वभाविक कारोबारका आधारमा उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको हो।

अन्य प्रतिवादी पनि संलग्न
अन्सारीसहित उनकी श्रीमती सालमा खातुन, सर्लाहीकी प्रमिला अधिकारी र बाराका शुभेश्वर प्रसाद कुश्वाहविरुद्ध मुद्दा दायर गरिएको छ। अन्सारी प्रहरी नियन्त्रणमा रहे पनि अन्य तीन जनालाई फरार प्रतिवादीका रूपमा अभियोग पत्रमा समावेश गरिएको छ।

अभियोजन पक्षले अन्सारीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो र अधिकतम १५ वर्षसम्मको कैद सजायको माग दाबी गरेको छ।