एसीसी यू-१६ फाइनलमा नेपाललाई सहज लक्ष्य, सिंगापुर ११३ रनमै समेटियो

एसीसी यू-१६ फाइनलमा नेपाललाई सहज लक्ष्य, सिंगापुर ११३ रनमै समेटियो

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा नेपालले उपाधि जित्नका लागि केवल ११४ रनको सहज लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा मात्र ११३ रनमा अलआउट भयो।

सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए। उनले ९० भन्दा बढी बल खेलेर धैर्यपूर्ण पारी खेलेका थिए। रिहान नाइकले १५ रनको योगदान दिए।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अभय यादवले १० ओभरमा ३४ रन दिँदै ३ विकेट लिएका छन्। सुशिल बहादुर रावलले पनि ३ विकेट हात पारेका छन्। शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए।

नेपाल यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै आएको छ। समूह चरणमै नेपालसँग पराजित भएको सिंगापुरले त्यसपछि सबै खेलमा जित हात पारेको थियो।

नेपालले सेमिफाइनलमा मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने सिंगापुरले हङकङलाई पराजित गरेर उपाधि भिडन्तमा पुगेको हो।

त्यस्तै, तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि आजै प्रतिस्पर्धा भइरहेको छ। साविक विजेता नेपालले यसपटक पनि अपराजित यात्रा कायम राख्दै उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ।