

काठमाडौं : अमेरिकी तल्लो सदन (कंग्रेस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको कर र खर्चसम्बन्धी विधेयक पारित गरेको छ। बीबीसीका अनुसार, यो विधेयक ट्रम्पको घरेलु नीति र एजेन्डाका लागि एक महत्वपूर्ण राजनीतिक जित मानिएको छ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो, लामो र कठिन बहसपछि प्रतिनिधि सभाले विधेयक पारित गरेको हो। मतदानमा २१८ सांसदले समर्थन जनाउँदा २१४ जना विपक्षमा थिए।
यसअघि, मंगलबार अमेरिकी सिनेटले पनि एक मतको झिनो अन्तरले सो विधेयक अनुमोदन गरिसकेको थियो।
राष्ट्रपति ट्रम्पले रिपब्लिकन बहुमत रहेको कंग्रेसलाई आगामी जुलाई ४ सम्म विधेयक पास गरी हस्ताक्षरको लागि पठाउन निर्देशन दिएका थिए।
तर, यस विधेयकले आगामी १० वर्षमा अमेरिकी संघीय घाटा ३.३ ट्रिलियन डलरले बढाउने र लाखौं मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने सम्भावना रहेको संसदीय बजेट कार्यालय (CBO) ले प्रक्षेपण गरेको छ। यद्यपि, ह्वाइट हाउसले उक्त विश्लेषणलाई अस्वीकार गरेको छ।
“देशलाई रकेटजस्तै अगाडि बढाउने विधेयक” – ट्रम्प
विधेयक पारित भएपछि ट्रम्पले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, “यो देशका लागि उत्कृष्ट विधेयक हुनेछ। यसले देशलाई रकेट जहाजमा परिणत गर्नेछ।”
अन्तिम घडीमा समर्थन दिलाउने प्रयास सफल
रिपब्लिकन सभामुख माइक जोन्सनले मतदानपछि प्रतिक्रिया दिँदै आफ्नो पार्टीभित्र एकता कायम राख्न सफल भएको बताएका छन्।
सुरुमा विधेयकको विरोधमा उभिएका टेक्सासका सांसद चिप रोयले पनि अन्ततः समर्थनमा मतदान गरे। उनले सिनेटबाट पारित विधेयकलाई ‘विपत्ति’ भनेका थिए तर अन्तिम घडीमा मत परिवर्तन गरे।
यो विधेयकले ट्रम्पको पुनः उम्मेदवारीका लागि राजनीतिक सन्देश दिने विश्वास रिपब्लिकन नेताहरूले व्यक्त गरेका छन्।