

काठमाडौँ : लगातारको वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको गगने खोला र दैलेखको जितेमा खसेको पहिरोका कारण सोमबार बिहानदेखि सवारी आवागमन ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले आइतबार बेलुकादेखिको वर्षाले ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जानकारी दिएका छन्।
हाल जेसीभीको सहयोगमा पहिरो हटाउने काम भइरहेको भए पनि लगातार पहिरो खसिरहेकाले समस्या थपिएको छ। कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार, पहिरो अझै बगिरहेको हुँदा सवारी सञ्चालनमा कठिनाइ भएको हो। सडक डिभिजन कार्यालय जुम्लाबाट थप मेसिन मगाएर पहिरो हटाउने तयारी भइरहेको छ।
कर्णाली राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला, मुगु, बाजुरा, हुम्ला र सुर्खेत आवतजावत गर्ने मालवाहक तथा सार्वजनिक यातायातका साधन बीचमै रोकिएका छन्। स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।