बर्थराइट सिटिजनसिप अन्त्य गर्ने ट्रम्पको आदेश कार्यान्वयनको मार्गमा

बर्थराइट सिटिजनसिप अन्त्य गर्ने ट्रम्पको आदेश कार्यान्वयनको मार्गमा

वाशिङ्टन, डिसी। अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा महत्त्वपूर्ण कानुनी निर्णय सुनाएको छ, जसले उनलाई नीतिगत निर्णयहरू कार्यान्वयन गर्न बाटो खुला गरिदिएको छ। अदालतले ६–३ को मतले तल्लो अदालतहरूले राष्ट्रपतिको निर्णयमा हस्तक्षेप गर्न नपाउने फैसला गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, यस निर्णयले ट्रम्पको चर्चित ‘बर्थराइट सिटिजनसिप’ (जन्मसिद्ध नागरिकता) अन्त्य गर्ने कार्यकारी आदेशसहित अन्य धेरै नीतिहरूको कार्यान्वयन सहज बनाएको छ। अघिसम्म तल्लो अदालतहरूले यी नीतिहरूलाई अस्थायी रूपमा रोक्दै आएका थिए।

सर्वोच्च अदालतको निर्णय अनुसार ट्रम्प प्रशासनले ल्याएको अमेरिकी भूमिमा जन्मिएका सबै व्यक्तिलाई स्वतः नागरिकता दिने प्रथा अन्त्य गर्ने आदेश अब एक महिनापछि लागू गर्न सकिनेछ।

तर अदालतले कुनै व्यक्ति वा संस्था कानुनी रूपमा मुद्दा हाल्न योग्य भएमा, तल्लो अदालतहरूले उक्त आदेशको प्रभाव सीमित गर्ने छुट भने राखेको छ।

यो निर्णय ट्रम्पका लागि ठूलो कानुनी जित मानिएको छ, जसले आगामी दिनमा उनका अन्य नीतिगत एजेन्डाहरू कार्यान्वयन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।