साहसी गायिकाहरूको भण्डाफोर अभियानको प्रधानमन्त्री ओलीद्वारा प्रशंसा

साहसी गायिकाहरूको भण्डाफोर अभियानको प्रधानमन्त्री ओलीद्वारा प्रशंसा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रवृत्तिविरुद्ध आवाज उठाउँदै आएका गायिका एलिना चौहान र समीक्षा अधिकारीको भण्डाफोर अभियानको खुलेर प्रशंसा गरेका छन्।

प्रधानमन्त्री ओलीले गायिकाद्वयको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनीहरूलाई “साहसी छोरीहरू” को संज्ञा दिएका छन्। उनले आफूहरूप्रति गरिएका अपमानजनक टिप्पणी र छुद्र भाषाको प्रयोग गर्ने प्रयोगकर्ताहरूको नाम, तस्बिर र कमेन्ट सार्वजनिक गर्नु सकारात्मक कदम भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा गाली, सराप र निरन्तर विरोधजन्य मानसिकता बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, “आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, विरोध मात्र गर्ने र परपीडक मानसिकता समाजका लागि खतरनाक हुन्छ।”

उनले समीक्षा र एलिनाले अपनाएको तरिका समाजलाई उत्तेजनाले होइन, विवेकले मार्गदर्शन गर्न सहयोगी भएको बताए। “समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो,” ओलीले लेखेका छन्, “राम्रो गर्न खोज्नेहरूले हिम्मत हार्नु हुँदैन।”

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आलोचनालाई जवाफ दिने यी दुई गायिकाको प्रयासलाई समर्थन जनाउँदै उनीहरूको साहसिक कदम अरूका लागि पनि प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन्।