साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

काठमाडौँ, ३१ भदौ । बाह्रौँ साफ च्याम्पियनसिप फुटबलको उपाधि माल्दिभ्सले उचालेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो ।

सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो ।

सुरुदेखि नै आक्रामक खेल खेलेको माल्दिभ्सले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गरेको थियो । १९ औं मिनेटमा माल्दिभ्सका लागि इब्राहिम मुहिद्दिन हसनले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

उनले नजिज हसनको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको माल्दिभ्सले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । भने अन्तिम समयमा १ गोल भारतले गरेको थियो । ६६ औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सलाई साफ च्याम्पियनसिपको उपाधि नजिक पु-याएका थिए । खेलको ९१औं मिनेटमा भारतका सुमित पासीले गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

यही भदौ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गरेका थिए ।

बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले एक/एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भूटान र पाकिस्तानले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । यस जितसँगै माल्दिभ्सले दुई पटक उपाधि हात पारेको छ ।

भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको छ । बङ्गलादेशले २००३, माल्दिभ्सले २००८, अफगानिस्तानले २०१३ र श्रीलङ्काले १९९५ मा उपाधि जितेको थियो ।