हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, अब सिमकोटसम्म गाडीमै पुग्न सकिने

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, अब सिमकोटसम्म गाडीमै पुग्न सकिने

काठमाडौं । राष्ट्रिय सडक सञ्जालबाट अलगिएको अन्तिम जिल्ला हुम्ला अब सवारीसाधनमार्फत पुग्न सकिने भएको छ। सदरमुकाम सिमकोटलाई सडकमार्गसँग जोड्ने सपना अन्ततः पूरा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले “हुम्ला अब टाढा छैन” भन्ने पोष्टर सार्वजनिक गर्दै चाँडै सडक सञ्चालनमा आउने जनाएका छन्। उनले स्पेन भ्रमणबाट फर्किएपछि हुम्लामा आयोजना गरिने सडक सञ्जाल उद्घाटन कार्यक्रममा सहभागी हुने बताएका छन्।

सिमकोटसम्मको सडक निर्माणमा रहेको अन्तिम बाधा — झन्डै १५० मिटर लामो छारेभिर फोडिएपछि सडक जोडिएको हो। यससँगै सदरमुकाम सिमकोट हुँदै चीन सीमास्थित हिल्सा सम्मको ९५ किलोमिटर दूरीमा पनि सवारीसाधन चल्न सक्ने भएको छ।

हुम्ला यसअघि राष्ट्रिय सडक सञ्जालबाट अझै छुटेको एकमात्र जिल्ला थियो। अब देशका सबै ७७ जिल्ला सडक सञ्जालमा आबद्ध हुने सपना साकार हुन लागेको सरकारको भनाइ छ।