

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना र न्याय परिषद्को सदस्यमा सिफारिस गरिएका एक व्यक्तिविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी दर्ता भएका छन्।
समितिका अनुसार तीमध्ये ५ वटा उजुरी व्यक्तिविशेष लक्षित छन् भने २ उजुरी समावेशीता नपुगेको आरोपमा दर्ता भएका हुन्। प्रस्तावित न्यायाधीशहरूमध्ये वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल विरुद्ध २–२ वटा उजुरी, तथा उच्च अदालत दिपायलका प्रमुख न्यायाधीश शान्तिसिंह थापाविरुद्ध १ उजुरी परेको हो। न्याय परिषद्का लागि सिफारिस भएका महेशकुमार नेपालविरुद्ध भने कुनै उजुरी परेको छैन।
बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उजुरी वितरण गरिएको थियो। समितिकी सभापति ईश्वरी देवी न्यौपानेका अनुसार उजुरीमा उठाइएका विषयमा शुक्रबार उजुरीकर्तालाई छलफलका लागि बोलाइएको छ।