आजको मौसम : कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको चेतावनी

आजको मौसम : कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ भने केही स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागका केही स्थानहरूमा र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

साथै, सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

राति पनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

महाशाखाले संभावित भारी वर्षा र हिमपातका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।