

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिनका लागि सहकारीको मोडलमा संसदीय समिति वा जाँचबुझ आयोग ऐन २०२६ अनुसार बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने सुझाव दिएका छन्।
संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले बनाएको शंकरदास वैरागी नेतृत्वको छानबिन समितिलाई टालटुले समिति भन्दै अस्वीकार गरे।
‘नीतिगत र प्रणालीगत पक्षलाई हेर्ने हो भने सहकारी मोडलमै संसदीय छानबिन समिति आवश्यक छ,’ उनले भने, ‘अख्तियारले भ्रष्टाचार र लुटमात्र हेर्छ, तर यो विषय त्यसभन्दा बाहिरको हो। त्यसैले प्रणालीगत सुधारका लागि गहिरो अध्ययन जरुरी छ।’
वाग्लेले रास्वपाले जेठ १३ गतेदेखि निरन्तर आवाज उठाउँदै आएको बताउँदै २५ गतेसम्मको सेटिङसम्बन्धी प्रमाण पार्टीसँग रहेको दाबीसमेत गरे। आफूहरू नयाँ भएपनि बेवकुफ नभएको उनको भनाइ थियो।