

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित समितिप्रति सरकारलाई धन्यवाद दिएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी उपमहासचिव वर्षमान पुनले दुई बुँदे सहमति अनुरूप समिति गठन भएकोमा सरकारको निर्णय सराहनीय भएको बताए।
पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा सरकारले गठन गरेको समितिले जनभावना समेटी निष्पक्ष रूपमा काम गर्ने विश्वास उनले व्यक्त गरे। “एकातिर संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको छ, निष्पक्ष होस् भन्ने हाम्रो अपेक्षा छ,” पुनले भने, “यसमा जनताको विषयसमेत जोडिएको छ, त्यसलाई समितिले अध्ययन गर्नेछ।”
उनले विगतदेखि चलिआएको समस्या तथ्यपरक ढंगले पहिचान गरेर समाधान खोजिने विश्वास व्यक्त गरे। साथै, समितिले टिओआर (कार्यादेश) अनुसार प्रभावकारी काम गर्ने र माओवादी केन्द्रले निरन्तर निगरानी राख्ने स्पष्ट पारे।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले भने सो समितिलाई अस्वीकार गरिसकेका छन्।