गृहमन्त्रीको स्पष्टोक्ति : भिजिट भिसा छानबिन समिति मेरो प्रस्तावमा बनेको हो

गृहमन्त्रीको स्पष्टोक्ति : भिजिट भिसा छानबिन समिति मेरो प्रस्तावमा बनेको हो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा सरकारद्वारा गठन गरिएको छानबिन समिति आफ्नै प्रस्तावमा बनेको स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समितिले संसदमा उठेका सबै दल र सांसदहरूको भावना समेट्ने गरी कार्यादेश तयार गरिएको दाबी गरे।

सरकारले आइतबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। मन्त्री लेखकका अनुसार समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा कुनै प्रभाव नपार्ने गरी बनाइएको हो।

“समस्या सबैलाई थाहा छ, यो व्यक्तिगत विषय होइन,” उनले भने, “समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक भएकाले उठेका सबै पक्षलाई समेटेर समिति गठन गरिएको हो।”

उनले समितिलाई अध्यागमनमा देखिएका कमजोरी तथा प्रणालीगत त्रुटिहरूको समाधानका लागि सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको जानकारी दिए। साथै, समितिको कार्य क्षेत्र निर्धारण गर्न ९ बुँदे कार्यादेश तय गरिएको पनि बताए।