

एजेन्सी । अमेरिकी सेनालाई लक्षित गर्दै इरानले कतारस्थित अल उदेइद सैन्य अड्डातर्फ क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि कतारले आफ्ना हवाई सुरक्षा प्रणालीमार्फत ती क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक निष्क्रिय पारेको दाबी गरेको छ।
कतारका प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजिद बिन मोहम्मद अल–अन्सारीले सोमबार जारी विज्ञप्तिमा इरानी आक्रमणलाई कतारले पूर्णरूपमा विफल पार्न सफल भएको बताएका हुन्। उनले इरानी क्षेप्यास्त्रहरू राजधानी दोहामाथि खसेको भए पनि कुनै मानवीय क्षति नभएको पुष्टि गरे।
कतारको कडा प्रतिक्रिया
प्रवक्ता अल–अन्सारीले यो आक्रमणलाई कतारको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गर्दै स्पष्ट चेतावनी दिएका छन्, “कतारले यस्तो आक्रमणको जवाफ दिने अधिकार सुरक्षित राख्छ।” उनले शान्ति र संवादमा फर्कन इरानलाई आह्वानसमेत गरेका छन्।
उनका अनुसार अल उदेइद सैन्य अड्डा आक्रमणअघि नै खाली गरिएको थियो र सुरक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वतयारी गरिएको थियो।
इरानको दाबी र अमेरिका–मध्यपूर्व तनाव
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले यो क्षेप्यास्त्र आक्रमणलाई “विजयको घोषणा” अभियानको भाग भएको भन्दै कतार र इराकमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरिएको बताएको छ।
शनिबार इरानका तीन आणविक केन्द्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो आक्रमण गरिएको IRGC को भनाइ छ। “इरानले आफ्नो राष्ट्रिय सुरक्षामाथिको कुनै पनि खतरा चुपचाप सहन सक्दैन,” IRGC ले चेतावनी दिएको छ।
क्षेप्यास्त्र आक्रमणपछि खाडी क्षेत्र सतर्क
इरानी आक्रमणपछि खाडी क्षेत्रका विभिन्न मुलुकहरूले हवाई सतर्कता अपनाएका छन्। कतार र संयुक्त अरब इमिरेट्सले आक्रमणपूर्व नै आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका थिए भने बहराइन र कुवेतले पनि सोमबार हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्।
कतारको अल उदेइद सैन्य अड्डामा हजारौं अमेरिकी तथा मित्र राष्ट्रका सैनिकहरू तैनाथ छन्, र यो अड्डा अमेरिका–मध्यपूर्व सैन्य सञ्चालनको प्रमुख केन्द्रका रूपमा परिचित छ।