काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा हाल १६ जना नेपाली रहेको जानकारी दिएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीमध्ये ५ जना गैरकानुनी रूपमा गएकाले इरानको जेलमा रहेको सूचना आएको बताइन्।
उनका अनुसार, बाँकी ११ जना नेपाली भारतको सहयोगमा सुरक्षित रूपमा फिर्ता ल्याउने तयारी भइरहेको छ। “हामीले भारतको परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती नेपालीलाई मसाद भन्ने स्थानबाट निकाल्ने व्यवस्था मिलाएका छौं,” उनले भनिन्, “उनीहरू भोलिसम्म भारत आइपुग्नेछन्।”
जेलमा रहेका ५ नेपालीलाई पनि फिर्ता ल्याउन प्रयास भइरहेको बताउँदै मन्त्री राणाले विदेशमा रहेका नेपाली दूतावासहरूको अवस्था अत्यन्तै कमजोर रहेको गुनासो गरिन्।
“हाम्रा दूतावास त वडा कार्यालय जत्तिकै पनि छैनन्,” भन्दै उनले जापानको राजदूतावासको उदाहरण दिइन्, “त्यहाँको दूतावास त कुखुराको खोरभन्दा सानो छ, बस्ने ठाउँ पनि छैन।”
राणाले दिल्ली र बेइजिङस्थित नेपाली दूतावास मर्मतका लागि बजेट विनियोजन गरिएको जानकारी पनि दिइन्।