काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यसअघि असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका बनाएपनि ढिलाइ हुन पुगेको हो।
गत चैतमा शिक्षकहरूले गरेको २९ दिन लामो आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण कार्यमा ३२ दिनको ढिलाइ भएको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार परीक्षण सकिएपछि अहिले अङ्क इन्ट्री र प्रोसेसिङको काम तीव्र गतिमा भइरहेको छ।
“शिक्षकहरूको आन्दोलनले ३२ दिन ढिलाइ भएको हो, अहिले हामी डबल सिफ्टमा काम गरिरहेका छौँ,” डा. भट्टराईले बताए। बोर्डले असारको तेस्रो वा चौथो साताभित्र नतिजा प्रकाशित गर्ने लक्ष्य राखेको भए पनि मिति अझै टुंगो लागेको छैन।
बोर्डले निर्धारित कार्यतालिका अनुसार असार ६ गतेभित्र नतिजा प्रकाशित गरेर असार २२ सम्म पुनर्योगका लागि आवेदन खुलाउने, साउन १२ गते पुनर्योग नतिजा प्रकाशित गर्ने, साउन १९ र २० गते पूरक परीक्षा लिने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने योजना बनाएको थियो।
तर नतिजा प्रकाशनमा ढिलाइ भएपछि कक्षा ११ को भर्ना प्रक्रिया र अन्य कार्यक्रमहरू समेत प्रभावित हुने देखिएको छ। गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए।