

काठमाडौं । कर्णालीको समग्र विकास, वातावरणीय संरक्षण र सुशासन स्थापनाका लागि सुर्खेतदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका अभियानकर्मी नवराज बोहोराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
बोहोराले करिब एक महिनाको लामो यात्रा गर्दै राजधानी आइपुगी प्रचण्डलाई कर्णालीमा भइरहेका समस्या, विकासको ढिलाइ, पर्यावरणीय चुनौती र अनियमितताबारे जानकारी गराएका हुन्। उनले जनचेतनाको सन्देश फैलाउँदै कर्णालीका आवाज काठमाडौंसम्म पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेका छन्।
अध्यक्ष प्रचण्डले बोहोराको अभियानको स्वागत गर्दै माओवादी केन्द्रको मूल विचार र दृष्टिकोणसँग मेल खाने बताउँदै उक्त प्रयासप्रति समर्थन जनाए। उनले कर्णालीको समृद्धिको लागि विगतमा सरकारमा रहँदा विभिन्न पहल गरिएको स्मरण गर्दै बोहोराको अभियानले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।
प्रचण्डले बोहोरालाई अभियान निरन्तरता दिन शुभकामना दिँदै आवश्यक सहयोग र समर्थन प्रदान गर्ने प्रतिबद्धता पनि जनाए।