

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूले उठाएका विषयमा ध्यान नदिएको आरोप लगाउँदै त्यसकै विरोधस्वरूप संसद् बैठक बहिष्कार गरिएको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले विरोधकाबीच आफूहरूले अन्य सबै सांसदको भनाइ सुने पनि सत्तापक्षका सांसदहरू बोल्न थालेपछि मात्र बैठक बहिष्कार गरिएको स्पष्ट पारे । उनका अनुसार सत्तापक्षले रास्वपाले उठाएका गम्भीर मुद्दाहरू प्रति संवेदनशीलता नदेखाएसम्म आफूहरूले पनि सत्तापक्षको कुरा नसुन्ने निर्णय गरिएको हो ।
झाले सरकारमाथि दुई तिहाईको दम्भ देखाउँदै राज्य सञ्चालन गर्ने र नागरिकको आवाज बेवास्ता गर्ने प्रवृत्ति देखिएको आरोपसमेत लगाए । साथै, सरकारले प्रस्तुत गरेको बजेटप्रति समेत रास्वपाको गहिरो असन्तुष्टि रहेको जनाए ।