

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिस गोरखा सैनिकहरूलाई बेलायती सैनिकसरह सेवा सुविधा दिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता शीर्षक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले गोरखा सैनिकहरूको योगदान र अधिकारबारे संवेदनशील हुनुपर्ने बताएका हुन्।
देउवाका अनुसार, गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भइरहेको छ। “छिट्टै निष्कर्षमा पुग्नेछौं,” उनले भने, “तर बेलायतले गोरखालाई आफ्ना सैनिक सरह सेवा दिन अझै मानेको छैन।”
उनले स्पष्ट पारे, ‘ब्रिटिस गोरखाले निरन्तर नेपाली नागरिकता माग गरिरहे पनि त्यो दिने वा नदिने निर्णय पूर्ण रूपमा नेपालको हातमा छैन।’
विदेशी नागरिकता लिइसकेका गोरखाहरूलाई पुनः नेपाली नागरिकता दिन सकिने सम्भावना नरहेको देउवाको भनाइ थियो। “यदी कसैले विदेशी नागरिकता लिइसकेका छन् भने, तिनीहरूलाई नेपाल सरकार एनआरएन (गैरआवासीय नेपाली) नागरिकता दिनसक्छ,” उनले बताए।
यो विषयले नेपालको विदेश नीति, राष्ट्रियता र प्रवासी नेपालीको अधिकार सम्बन्धी बहसलाई थप चर्काएको छ।