आज विश्व सङ्गीत दिवस मनाइँदै

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाडौं। आज जुन २१ तारिख, विश्वभर विश्व सङ्गीत दिवस मनाइँदैछ। ‘सद्भावमार्फत उपचार’ भन्ने नारासहित यस वर्षको सङ्गीत दिवसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक मेलमिलापको सन्देश दिन खोजिएको छ।

विश्व सङ्गीत दिवस सन् १९८१ मा फ्रान्सबाट सुरु भएको हो। त्यसयता यो दिवस एक सयभन्दा बढी मुलुकमा विशेष कार्यक्रमसहित मनाउने गरिन्छ। नेपालमा भने २०४५ सालदेखि नियमित रूपमा यो दिवस मनाइँदै आएको छ।

सङ्गीतलाई विश्वव्यापी भाषा मानिन्छ। विविध जाति, भाषा, धर्म र संस्कृतिले भरिएको नेपालमा मादल, सारङ्गी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो लगायतका मौलिक वाद्यवाद्यहरू आज पनि सांस्कृतिक परिचयका रूपमा बजाइन्छन्।

सङ्गीत दिवसको सन्देश स्पष्ट छ—सङ्गीतले भावनात्मक थकान हटाउँछ, पीडामा मलहम लगाउँछ, र समाजमा सहिष्णुता र मेलमिलाप बढाउँछ। यही सन्देश फैलाउने उद्देश्यका साथ आज नेपालमा पनि विविध सांगीतिक कार्यक्रमहरू आयोजना हुने अपेक्षा गरिएको छ।