

काठमाडौं । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकको सहायताका लागि सरकारले परराष्ट्र मन्त्रालयमा २४ सै घण्टा सञ्चालन हुने गरी हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ।
यो हेल्प डेस्कमा परराष्ट्र मन्त्रालयसँगै गृह, श्रम तथा रोजगार तथा पर्यटन मन्त्रालयका अधिकारीहरूको समेत सहभागिता रहनेछ। परराष्ट्र मन्त्रालयमा आज बसेको चार मन्त्रालयका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो।
बैठक परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा आयोजना गरिएको थियो, जसमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी पनि सहभागी थिए। गृह र पर्यटन मन्त्रालयतर्फ भने सचिव स्तरका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा मन्त्री राणाले युद्धपछिको परिस्थितिलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको पोर्टलमा अनिवार्य रूपमा दर्ता हुन अपिल गरेकी थिइन्।
उनका अनुसार, इजरायल र इराकमा उत्पन्न असहज अवस्थाका कारण स्वदेश फर्कन चाहने नेपालीलाई कसरी उद्धार गर्ने भन्ने विषयमा बैठकमा गहिरो छलफल भएको थियो।