

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा प्राकृतिक ग्याँसको स्रोत फेला परेको खबरले आफू अत्यन्तै खुसी भएको बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्री हुँदा आफूले सुरु गरेको पेट्रोलियम अन्वेषणको स्मरण गरेका हुन्। उनले लेखेका छन्, “दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्याँस रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।”
प्रधानमन्त्रीको यो अभिव्यक्तिले दैलेखको ग्याँस स्रोत नेपाललाई ऊर्जा आत्मनिर्भरताको दिशातर्फ लैजाने सम्भावना रहेको सन्देश दिएको छ।
ओली नेतृत्वको सरकारले विगतमा दैलेखलगायतका पहाडी जिल्लामा चिनियाँ प्राविधिक टोलीको सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो। यद्यपि त्यतिबेला आलोचकहरूले यसलाई ‘अवास्तविक सपना’ भन्दै आलोचना गरेका थिए।
हालै सार्वजनिक गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेखमा ठूलो परिमाणमा प्राकृतिक ग्याँस रहेको पुष्टि भएको छ। विज्ञहरूका अनुसार अझ विस्तृत अनुसन्धान र परीक्षण आवश्यक रहनेछ।