

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको महत्वपूर्ण बैठक शुक्रबार दिउँसो सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजेका लागि तय गरिएको हो। बैठकमा पछिल्लो समय गृहमन्त्री रमेश लेखकमाथिको भिजिट भिसा प्रकरण, संसदमा देखिएको अवरोध र बजेटमाथिको बहसका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भिजिट भिसा काण्डमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी संसदको रोष्ट्रम घेरेर नाराबाजी गरिरहेको छ। यद्यपि, संसदको बैठक भने नियमित रूपमा चलिरहेको छ।
आजको बैठकमा प्रधानमन्त्री ओली सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची पनि छ। यसअघि बिहीबार बस्ने भनिएको दलहरूको बैठक स्थगित भएको थियो। आजको बैठकबाट संसदको अवरोध समाधान र समसामयिक राजनीतिक गतिरोध अन्त्य हुने आशा गरिएको छ।