

काठमाडौं : गर्मी मौसममा छालामा चिलोपन, घामको ताप, धुलो र पसिनाको कारण सौन्दर्य हराउँदै जान्छ। यस्तो अवस्थामा धेरैले क्लिनिक, पार्लर वा महंगा स्किनकेयर प्रोडक्टको भर पर्छन्। तर, विशेषज्ञहरू भन्छन्—छालाको हेरचाह घरमै पनि सम्भव छ, त्यो पनि प्राकृतिक सामग्रीको प्रयोगबाट।
छालालाई प्राकृतिक रूपमा स्वस्थ, चम्किलो र हाइड्रेटेड राख्न राति सुत्नुअघि यी पाँच सामग्री अनुहारमा लगाउनुहोस्:
१. एलोभेरा जेल
गर्मीमा एलोभेरा जेल छालाका लागि वरदान समान हो। यसले छालालाई चिसोपन दिनुका साथै सनबर्न, ट्यानिङ र चिलोपनबाट राहत दिन्छ। राति अनुहार सफा गरी हल्का मसाज गर्दै लगाएर सुत्नुस्—बिहान चम्किलो र ताजा अनुहार देख्न सक्नुहुन्छ।
२. टी ट्री आयल
टी ट्री आयलले छालालाई पोषण दिनुका साथै पिम्पल, दाग, संक्रमण र ट्यान हटाउन मद्दत गर्छ। नरिवलको तेलमा मिसाएर अनुहारमा लगाउनुस् र हल्का मसाजपछि सफा कपडाले पुछेर सुत्नुस्।
३. गुलाब जल
प्राकृतिक टोनरका रूपमा काम गर्ने गुलाब जलले छालालाई चिसो, टाइट र चम्किलो बनाउँछ। गुलाब जलमा ग्लिसरीन मिसाएर अनुहारमा लगाउँदा छालाको मुलायमता बढ्छ र रातभरमा छालाले चमक फेर्छ।
४. नरिवलको तेल
नरिवल तेल छालालाई गहिरो मोइस्चर दिन्छ। यसले छालाको टोन सुधार्नुका साथै छाला नरम, चम्किलो र हाइड्रेटेड बनाउँछ। हल्का मनतातो तेल राति अनुहारमा लगाएर सुत्नुस्, परिणाम आफैं देख्नुहुनेछ।
५. भिटामिन C सीरम
छालामा कोलाजेन उत्पादन बढाउन र दागधब्बा घटाउन भिटामिन C सीरम प्रभावकारी हुन्छ। राति यसको प्रयोगले छालाको रंगमा निखार ल्याउँछ र अनुहारमा प्राकृतिक उज्यालो दिन्छ।
यी घरेलु उपाय नियमित अपनाउँदा महंगो सौन्दर्य प्रसाधन वा उपचारको आवश्यकता नै नपर्न सक्छ। छालालाई भित्रबाट नै पोषण दिने यी सामग्रीहरूले तपाईंको सौन्दर्यलाई झन् निखार्नेछ।