

काठमाडौं : नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा दोस्रो जित हात पारेको छ। बिहीबार ग्लास्गोमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाली पारीका नायक कुशल भुर्तेल रहे, जसले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको ११औं अर्धशतक हो, जुन उनले ३८ बलमा पूरा गरेका थिए।
नेपालका लागि टि–२० आईमा यो उनकाे नवौं नेदरल्याण्ड्सविरुद्धको खेलमा चौथो अर्धशतक पनि हो। खेलका दौरान उनले ९.४ ओभरमा जीवनदान पनि पाए, जब ४४ रन हुँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसले क्याच छोडेका थिए।
नेपालका अर्का ओपनर आसिफ शेख ६ बलमा ७ रनमा आउट भए। दोस्रो विकेटका लागि कुशलले डेब्यु खेलाडी भीम सार्की (२७ रन) सँग ५४ रनको साझेदारी गरे। टि–२० आईमा नेपालका ५२औं खेलाडीका रूपमा डेब्यु गरेका भीमलाई उपकप्तान दीपेन्द्रसिंह ऐरीले टोपी प्रदान गरेका थिए।
तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलले ५ रन मात्र बनाए। चौथो विकेटमा कुशल र आरिफ शेखबीच ४४ रनको साझेदारी भयो। आरिफले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाएका थिए तर पछि रिटायर्ड हर्ट भए।
पाँचौं विकेटका लागि आरिफ र दीपेन्द्रबीच २७ रनको साझेदारी भयो। दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे। अन्त्यमा लोकेश बमले ४ बलमा १२ रन बनाउँदै छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। ओपनर माइकल लेविटले आक्रामक ८६ रनको पारी खेले, जसमा उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। पाँचौं विकेटका लागि उनले साकिब जुल्फिकरसँग ६३ रनको साझेदारी गरे।
जुल्फिकरलाई सन्दीप लामिछानेले १४ रनमा आउट गरे भने लेविटलाई करण केसीले रोहित पौडेलबाट क्याच गराए। भान डर मर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे। अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
तीन खेलमा २ जितसहित ४ अंक प्राप्त गरेको नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको छ। समान ४ अंक भए पनि अन्तिम खेल खेलिसकेको नेदरल्याण्ड्स दोस्रो स्थानमा झरेको छ। स्कटल्याण्ड तेस्रो स्थानमा रहेको छ।
नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार स्कटल्याण्डविरुद्ध खेल्नेछ। डबल राउन्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन घोषित हुनेछ।