एकल निर्णयको आलोचना बढेपछि बालेन पछि हटे, वडाध्यक्षको जिम्मेवारी पुनः बहाल

एकल निर्णयको आलोचना बढेपछि बालेन पछि हटे, वडाध्यक्षको जिम्मेवारी पुनः बहाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह चार वडाध्यक्षबाट खोसेको जिम्मेवारी फिर्ता लिँदै पछिल्लो निर्णयबाट पछि हटेका छन् । केही साता अघि साहले कार्यपालिकाको निर्णयबिना व्यक्तिगत रूपमा आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन, र सूचना प्रविधि समितिको जिम्मेवारीबाट हटाएका थिए ।

तर एकल निर्णयको तीव्र आलोचना भएपछि साह पछाडि हटेका हुन् । नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा ३० का अध्यक्ष दलबहादुर कार्की र वडा ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकाको अनुमोदन नलिएको भन्दै संयुक्त विज्ञप्ति जारी गरी जिम्मेवारी अस्वीकार गरेका थिए । विधायन समिति भने वडा १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो ।

यसबीच उपमेयर सुनिता डंगोलको संयोजनमा कार्यपालिका र नगरसभा सदस्यहरूको अनौपचारिक बैठक बसेको थियो । सो बैठकबाट आएको दबाबका कारण मेयर साह आफ्नो निर्णय फिर्ता लिन बाध्य बनेको एक वडाध्यक्षले जानकारी दिएका छन् । पछिल्लो समय कार्यपालिका बैठकसमेत सञ्चालन हुन नसकेको अवस्थामा साहको कदमले उनको नेतृत्वमाथि थप राजनीतिक दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ ।