

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले नेपाल सरकारले दिएको ढुवानी अनुदानका कारण दुर्गम जिल्लाहरूमा नुन प्रतिकेजी ९ रुपैयाँमै उपलब्ध गराउन सम्भव भएको बताएकी छन्।
उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उनले नुनको विभिन्न ब्रान्ड—ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन र भानु नुन—सरकारबाट अनुदान प्राप्त दुर्गम जिल्लामा मात्रै पठाइएको स्पष्ट पारिन्।
“सरकारको ढुवानी अनुदानले दुर्गम जिल्लामा नुनको मूल्य नौ रुपैयाँ कायम गरिएको हो,” श्रेष्ठले भनिन्, “तर बाँकी स्थानहरूमा भने साल्ट ट्रेडिङ नै घाटामा छ।”
उनका अनुसार भारत सरकारको मापदण्डअनुसार गुणस्तरीय नुन सुनिश्चित गर्न प्रयोगशालाबाट परीक्षण गरेर मात्र बजारमा वितरण गरिन्छ। बैठकमा आयोडिनयुक्त गुणस्तरयुक्त नुनको सहज आपूर्ति तथा वितरणको विषयमा विस्तृत छलफल भएको थियो।