

काठमाडौं । इजरायल र इरानबीच जारी हवाई द्वन्द्व छैटौं दिनमा प्रवेश गरेसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको छ। यो स्थिति आपूर्ति श्रृंखलामा गम्भीर अवरोध आउने संकेतका रूपमा हेरिएको छ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य ३० सेन्ट (०.४ प्रतिशत) ले बढ्दै प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ। त्यस्तै, लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा अगस्ट डेलिभरीका लागि ब्रेन्ट क्रूडको मूल्य २५ सेन्ट (०.३३ प्रतिशत) ले वृद्धि भई ७६.७० डलरमा कारोबार भएको हो।
क्षेत्रीय तनाव अझ चुलिँदै गएको देखिन्छ। इजरायलले जुन १३ मा इरानका आणविक पूर्वाधारहरूमा लक्षित गर्दै व्यापक हवाई आक्रमण सुरु गरेको थियो। त्यसको जवाफस्वरूप इरानले पनि प्रतिआक्रमण गर्दै गोलीबारी अझै जारी राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
युद्धको प्रभावले खाडी क्षेत्र हुँदै हुने ऊर्जा आपूर्तिमा बाधा पुग्ने आशंका बढेका कारण तेल बजारमा चाप बढिरहेको विश्लेषकहरूको भनाइ छ।