यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको र पश्चिमी वायु तथा स्थानीय वायुले पनि मौसममा आंशिक प्रभाव पारेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, यी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पनि उल्लेख गरिएको छ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा, कोशी, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।