गुट रक्षा होइन, निर्वाचन समीक्षा जरुरी

गुट रक्षा होइन, निर्वाचन समीक्षा जरुरी

 


-डा. सुरेश आचार्य-

 

प्रतिपक्षीको प्रहार बेहोरिरहनुभएका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला आफ्नै पार्टीभित्रै पनि दबाबमा पर्न‘भएको छ । पार्टीले चुनाव हारेको कारण पार्टी सभापतिले नैतिक रूपमा राजीनामा दिनुपर्ने दबाब दिन एकथरी कांग्रेसहरू लागेका छन् । पार्टीभित्र यही आशयका साथ केन्द्रीय समिति र महासमितिको बैठकका लागि दबाब सिर्जना गरिएको छ । यसका लागि हस्ताक्षर संकलन गर्नेसमेतका धम्कीपूर्ण अभिव्यक्ति कांग्रेसका नेता कार्यकर्ताबाट आउन थालेको छ ।
सामान्यतः निर्वाचनका क्रममा भएको पार्टीको हार वा जितमा त्यसको जस वा अपजस नेतृत्वले लिनुपर्छ । यो नैतिक दायित्व हो । पार्टीले निर्वाचन हारिरहँदा संयोगवश पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला दुबैले चुनाव जितेका छन् । तर पार्टीले शीर्ष नेतामा राखेका रामचन्द्र पौडेलदेखि सभापतिको प्रतिस्पर्धामा रहेका कृष्णप्रसाद सिटौलासम्मले चुनाव हारेका छन् । पार्टीका महामन्त्रीका उम्मेदवार अर्ज‘ननरसिंह केसीदेखि पूर्वसहमहामन्त्रीहरू डा.रामशरण महत र पूर्णबहादुर  खड्का सबै हारेका छन् । प्रकाशमान सिंह र गगन थापाको जितमा कांग्रेस पक्कै रमाएको छ, तर उनीहरूको जित संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि हो, कति हुन्छ हेर्नु नै छ । पार्टी संगठन भने संसद्बाट बाहिर परेकाले गर्नुपर्छ ।
समानुपातिकमा पाएको मत हेरेर कांग्रेसीजनहरू आफैं भनिरहेका छन्, कांग्रेस हारेको छैन । सत्य यही हो । कांग्रेस हारेको छैन, तर कांग्रेसका उम्मेदवार हारेका छन् । यसको मुख्य दुई अस्वाभाविक कारण हुन सक्छन् । पहिलो, उम्मेदवारको चयन गलत भयो । दोस्रो, उम्मेदवारलाई हराउन कांग्रेस आफैं लाग्यो । तेस्रो स्वाभाविक कारण दुई ठूला दलहरू मिल्दा एउटा ठूलो दल हार्ने नै भयो । उम्मेदवार चयन सामूहिक नेतृत्वका आधारमा गरियो । देउवाले आफ्ना मानिस जसरी रोजे होलान्, त्यसरी नै आफ्ना उम्मेदवार रोज्न कुनै नेताले बाँकी राखेनन् । रामचन्द्र पौडेलदेखि डा.शेखर कोइरालासम्म, गोपालमान श्रेष्ठदेखि प्रकाशमान सिंहसम्म सबैले आफ्ना उम्मेदवार रोजेकै हुन् । कृष्णप्रसाद सिटोलाले आफैंलाई टिकट दिलाउन समय र शक्ति खर्चिन प¥यो । अरु कतिलाई दिलाए होलान् ।

अरुलाई नैतिक पाठ पढाइरहँदा हारेका व्यक्तिको पहिलो जिम्मेवारी पार्टीको पदीय हैसियतबाट आफूले राजीनामा दिनुपर्ने होइन र ? पार्टीको नेतृत्वमा बसेर आफैं टिकट लिने र दिलाउने, अनि पराजित हुनासाथ त्यसको जिम्मेवारी अर्को कसैले लिइदिनुपर्ने ?

यतिबेला जो पार्टी सभापतिको राजीनामाको चाहना राखिरहेका छन्, उहाँहरू आफैं पार्टीका जिम्मेवार पदमा पनि छन् र अधिकांश आफैं पराजित भएका छन् । अरुलाई नैतिक पाठ पढाइरहँदा हारेका व्यक्तिको पहिलो जिम्मेवारी पार्टीको पदीय हैसियतबाट आफूले राजीनामा दिनुपर्ने होइन र ? पार्टीको नेतृत्वमा बसेर आफैं टिकट लिने र दिलाउने । अनि पराजित हुनासाथ त्यसको जिम्मेवारी अर्को कसैले लिइदिनुपर्ने ? पहिले आफू पराजित भएपछि कुनै नेताले आफ्नो पदबाट राजीनामा दिएको छ ? केन्द्रीय नेता भएर आफैं पराजित हँदा आफ्नो जिम्मेवारीबाट कसैले किन राजीनामा दिएन ? यो जिम्मेवारी ती नेतामा आउँछ कि आउँदैन ?
सिंगो पार्टी हारका लागि पार्टी सभापतिलाई जिम्मेवार बनाइरहँदा पार्टीको जिम्मेवारी जितेको कुनै नेताले पाउने हो वा हारेको उम्मेदवारले ? हारेको उम्मेदवारले कुन हैसियतमा जिम्मेवारीको दाबी गर्ने ? चुनाव जितेकै कारणले त्यो हैसियत दाबी गर्ने हो भने देउवा आफैं हारेका व्यक्ति होइनन् । शशांकले पनि हारेका छैनन् । जितेको कुनै उम्मेदवारले आफ्ना कारणले अर्को उम्मेदवारलाई पनि विजयी गराए भन्ने कुने आधार देखिएको छैन । कोही विजेता भएका छन् भने अधिकांश आफ्ना कारणले जितेका छन् र पराजय हुनेहरू पनि अधिकांश आफ्ना कारणले हारेका छन् । जित्दा जित्दै हारेका विश्वप्रकाश शर्मा र रमेश लेखकले पार्टी नेतृत्वलाई दोष दिएर पानीमाथि ओभानो बन्ने चेष्टा पनि गरेका छैनन् ।
निर्वाचनको समीक्षा हुनै पर्छ । जितेको कांग्रेस हन्थ्यो भने समीक्षातिर कोही लाग्ने थिएन । हारेका कारण समीक्षा गर्न खोजिएको छ । यो राम्रै कुरा हो । तर समीक्षा अगाडि नै निष्कर्ष निकालेर समीक्षा गर्न बस्नुको के अर्थ हन्छ ? हारका कारणबारे सबै जानकार हुन भने यसको समीक्षा गरिरहन परेन । बरु सुधारका उपायको बारेमा छलफल हुनु प¥यो । भोलिको कांग्रेसका बारेमा सोच्नु प¥यो । यसलाई कसैको राजनीति इतिहास वा भविष्य समाप्त गर्ने अवसरका रूपमा लिन भएन । यसलाई दुःख नमानेर अवसर मान्ने हो भने कसैप्रति वैरभाव र प्रतिशोध नराखी खुला हृदयले छलफल गर्न‘ प¥यो ।
आजको भोलि नै कांग्रेस नेतृत्व हस्तान्तरण गरेर जो कसैले यो पार्टीमा ठूलो उथलपुथल ल्याउने सम्भावना देखिँदैन । आज पार्टीको नेतृत्व गरेको पुस्ता उमेरका हिसाबले पनि अर्को निर्वाचनमा उम्मेदवार बन्ने अवस्था छैन । अर्को निर्वाचनको मैदानमा जाने भनेको अबको दोस्रो र तेस्रो पुस्ता नै हो । अहिलेको नेतृत्व पुस्तालाई सरापेर मात्र कांग्रेसको भविष्य बन्ने होइन । म र हामी सबै अटाउने कांग्रेस बनाउन निर्वाचन परिणामको निर्मम समीक्षा जरुरी छ । अन्तर्घातमा रमाएको कांग्रेसलाई मेरो वा तेरो नभनी सदाका लागि पार्टीबाट बिदा गर्ने साहस पार्टी नेतृत्वले गर्न‘पर्छ । फेरि पनि गुट र उपगुटको प्रतिरक्षाका लागि निर्वाचन समीक्षा खोजिएको हो भने यसको कुनै औचित्य छैन । तरुणबाट