‘नागढुंगा–सिस्ने खोला’ सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने

‘नागढुंगा–सिस्ने खोला’ सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। अहिले सुरुङ निर्माणको काम लगभग ९० प्रतिशत सकिएको छ भने ठेक्का लिने निकायले दसैंसम्म सबै काम पूरा गर्ने दाबी गरेको छ।

निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार सुरुङ भित्रको काम अधिकांश सकिएको छ। धादिङतर्फ सुरुङको मुख अगाडि पहाड सुधार र काठमाडौँतर्फ भौतिक संरचनाको निर्माण जारी छ। साथै, काठमाडौँको बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माण सकिएको छ, जसबाट सुरुङमार्ग जाने सवारीसाधनले फ्लाइओभर प्रयोग गर्नेछन्।

२०७६ कात्तिक ४ मा सुरु भएको यो आयोजना ४२ महिनाभित्र सकिनुपर्ने भए पनि कोभिड महामारी र स्थानीय अवरोधका कारण ६७ महिनापछि पनि काम पूरा हुन सकेको छैन।सुरुङमार्ग सञ्चालनपछि सिस्ने खोलाबाट बलम्बुको किसिपिडी पुग्न ७ मिनेट मात्र लाग्नेछ, जबकि अहिले ३३ मिनेटसम्म लाग्दछ। सुरुङमार्गसँगै तीन अन्डरपास, चार बक्स कल्भर्ट, एक ओभरपास र तीन पुल निर्माण भइसकेका छन्। सुरुङभित्र रंगरोगनको काम अन्तिम चरणमा छ भने सुरक्षा उपकरणहरू जडान भइसकेका छन्।

सुरुङमार्गको मुख्य दूरी २६८८ मिटर र आपत्कालीन सुरुङको दूरी २५५७ मिटर रहेको छ। कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ। सुरुङ निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गर्दै आएको छ।