एमालेभित्र देखिएका समस्या समाधान गर्न नेतृत्व सक्षम: उपाध्यक्ष पौडेल

एमालेभित्र देखिएका समस्या समाधान गर्न नेतृत्व सक्षम: उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्न वर्तमान नेतृत्व पूर्ण सक्षम रहेको दाबी गरेका छन्।

बुधबार आयोजित जनसंगठन संयन्त्रको बैठकमा बोल्दै पौडेलले समकालीन राजनीतिक दलहरूमध्ये एमाले सबैभन्दा कम आन्तरिक समस्यायुक्त दल भएको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधानका लागि बाह्य सहयोगको आवश्यकता नरहेको बताए। उनले भने, “सग्लो पार्टी भनेर कुनै पनि दल भेटिँदैन, तर एमालेमा देखिएका समस्या समाधान गर्न हाम्रो नेतृत्व सक्षम छ।”

पौडेलले पार्टीभित्र नीति र विधिको माध्यमबाट समस्या समाधान गरिने जनाउँदै भदौमा हुने विधान महाधिवेशनले पार्टी सञ्चालनमा देखिएका अवरोधलाई विधिसम्मत रूपमै हल गर्ने बताए।

पार्टी नेतृत्वका विषयमा अहिले नै अनावश्यक अड्कलबाजी नगर्न आग्रह गर्दै उनले भने, “विधान महाधिवेशनअघि नेतृत्वबारे छलफल गर्नु विभाजन निम्त्याउने काम हो, त्यसैले विधानले प्रक्रिया तय गरेपछि मात्र छलफल गरौं।” उनले जनसंगठनहरू सुस्ताएको भन्दै त्यसमा ऊर्जा भर्ने र जनसम्पर्क विस्तार गर्ने जिम्मेवारी फेरि जनसंगठनकै भएको उल्लेख गरे।

पार्टीको विस्तार र सशक्तीकरणमा जनसंगठनको प्रमुख भूमिका रहने भन्दै पौडेलले कार्यकर्ता घुमाएर मात्र संगठन बलियो नहुने चेतावनी पनि दिए।

बैठकमा १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष, पूर्वअध्यक्ष र महासचिवहरूले प्रतिवेदन पेश गरेका छन्। संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार रिर्पोटिङको क्रम जारी रहेको छ।